गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता, नेपालको विकासमा सहयोग निरन्तर रहने आश्वासन

गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता, नेपालको विकासमा सहयोग निरन्तर रहने आश्वासन

काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ। गृह मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा गृहमन्त्री खाँणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। साथै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरे।

यस्तै नेपालमा आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै नेपाल सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहितरूपमा सम्पन्न गर्न उच्च प्राथमिकता दिएको बताए।

राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सबल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै उनले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग रहने आश्वस्त पारे।

कात्तिक ६, २०७९ आइतबार ११:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।