टी–ट्वेन्टी विश्वकप : अलआउट अफगानिस्तानलाई इंग्ल्याण्डले पाँच विकेटले हरायाे

टी–ट्वेन्टी विश्वकप : अलआउट अफगानिस्तानलाई इंग्ल्याण्डले पाँच विकेटले हरायाे

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपको सुपर–१२ अन्तर्गतको दोस्रो खेलमा इंल्याण्ड पाँच विकेट विजयी भएको छ।

अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको इंल्याण्डले ११ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

उसका लागि लिम लिभिङ्स्टोनले नटआउट २९, एलेक्स हल्सले १९, जोस बट्लर र डविन मलानले समान १८–१८ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ रसिद खान, फरिद अहमद, मोहम्मद नाबी, मुजिब उर रहमान र फजल्लाह फारिकले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको अफगानिस्तानले १९.४ ओभरमा सबै विकेट गुमाएर ११२ रन मात्र जोड्न सक्यो। उसका लागि इब्राहिम जद्रानले ३२, उस्मान घानीले ३०, नजिबुल्लाह जद्रानले १३ तथा रहमानुल्लाह गुरबाजले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ साम करनले पाँच, मार्क वुड र बेन स्टोकले समान दुई–दुई तथा क्रिस वाक्सले एक विकेट लिए। खेलको प्लेयर अफ द म्याच पाँच विकेट लिने इंल्याण्डका साम करन भए।

जितसँगै इंल्याण्ड समूह १ को दोस्रो स्थानमा पुगेको छ। आजै भएको पहिलो खेलमा जित निकालेको न्यूजिल्याण्ड नेट रनरेटको आधारमा पहिलो स्थानमा छ। आज भएको पहिलो खेलमा न्यूजिल्याण्डले घरेलु टोली अस्ट्रेलियालाई ८९ रनले पराजित गरेको थियो।

कात्तिक ५, २०७९ शनिबार २०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।