आउँदो चुनावले ओलीको पार्टीलाई बिदाइ गर्नेछ : मन्त्री चौधरी

दाङ : दाङ–१ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार एवं शहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी निर्वाचनले एमालेको बिदाइ गर्ने बताएका छन्।
लमही नगरपालिकाका विभिन्न वडामा वाम लोकतान्त्रिक गठबन्धन दलको संयुक्त कार्यालय उद्घाटनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन्।
जनताको अभिमतको अपमान गर्दै केपी ओलीले जनताले निकै ठूलो बलिदानी गरेर निर्माण गरेको संघीय गणतन्त्र नेपालको संविधानलाई समाप्त पार्न खोजेकाले आगामी चुनावमा एमाले धुलोपिठो हुने उनको भनाइ थियो।
मन्त्री चौधरीले भने, ‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तब–तब वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ। एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्था विरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ। ०६२/६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाइ गर्नेछ।’
गठबन्धन दललाई जिताउने भनेको शान्ति, संविधान, कानूनी राज्य, समावेशी प्रणाली जोगाउने विषय भएको बताउँदै मन्त्री चौधरीले गठबन्धन दलका सबै नेता कार्यकर्ता एउटै मन भएर चुनावमा होमिएको बताए।
उनले थपे, ‘देश बचाउन, व्यवस्था बचाउन गठबन्धन बनेको कुरा जनताले बुझिसकेका छन् र जसले यो व्यवस्था समाप्त पार्न खोज्यो उसलाई जनताले चुतावमा समाप्त पार्ने छन्।’
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार अनुराग खड्का, नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डाँगी, शंकर गिरी, एकीकृत समाजवादीका केपी गैरे लगायतले मन्तव्य राखेका थिए।
कात्तिक ५, २०७९ शनिबार १९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।