कांग्रेसले टिकट नदिएपछि अर्थविद् स्वर्णिमलाई काठमाडौँ-७ मा उम्मेदवार बनाउन चाहन्थे ओली

काठमाडौँ : नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवारको आकाङ्क्षी रहेका अर्थविद् स्वर्णिम वाग्लेले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने प्रस्ताव आए पनि आफूले अस्वीकार गरेको दाबी गरेका छन्।
वाग्ले चितवनबाट कांग्रेस उम्मेदवार हुने प्रयासमा थिए। उनको नाम काठमाडौँ-५ मा समेत चर्चामा रहे पनि अन्तमा उनले टिकट पाएनन्।
काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ-७ बाट उम्मेदवार बन्न प्रस्ताव राखेको र स्वतन्त्र पार्टीबाट देशभरको जुनसुकै निर्वाचन क्षेत्रबाट चाहने हो सोही क्षेत्रबाट उम्मेदवार बनाउन तयार रहेको भन्ने प्रस्ताव आएको दाबी गरे।
वाग्लेले ओलीले काठमाडौँ-७ मा कांग्रेसको उम्मेदवार पनि नभएको र उम्मेदवार बन्ने हो भने आफू सघाउन तयार रहेको बताएको तर आफूले अस्वीकार गरेको दाबी गरे।
रवि लामिछाने उम्मेदवारी दर्ताको दिन साढे तीन बजेसम्म कुरेको तर आफू राजी नभएको दाबी समेत गरेका थिए।
'टिकटको आकाङ्क्षी थिए, नपाएपछि मलाई एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो । यो कुरा म आज भन्न सक्छु,' उनले कार्यक्रममा भने' काठमाडौँ ७ बाट चुनाव लड्नुस्, हामी सहयोग गर्छौँ, त्यहाँ कांग्रेसको उम्मेदवार पनि छैन, एमालेले तपाईँलाई सहयोग गर्छ, तपाईँ सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो।'
उनले आफूले मागेको बेलामा टिकट दिएन भनेर रियाक्सन गर्दा परिपक्व राजनीति नहुने भन्दै आफ्नो तीन पुस्ता नै कांग्रेस भएकाले समेत अन्य दलको प्रस्ताव स्वीकार गर्न नसकेको बताए।
उनले स्वतन्त्र भएर चुनाव लड्नुपर्छ भनेर समेत दबाब आएको भन्दै उनले आफू सक्रिय भएर लागेको पार्टी छाडेर जानुभन्दा आफ्नो फेमवर्कमा बसेर काम गर्न राजी भएको बताएका थिए।
उनले आगामी पाँच वर्ष युवा मतदातामाझ अन्तर्क्रिया गर्नमा बिताउने बताएका थिए।
कात्तिक ५, २०७९ शनिबार १९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।