चुनावका बेला फेक समाचारको कारखानै खुल्नसक्छ, सतर्क रहाैं : अध्यक्ष बस्नेत

चुनावका बेला फेक समाचारको कारखानै खुल्नसक्छ, सतर्क रहाैं : अध्यक्ष बस्नेत

काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुट समाचारको खेती चल्नसक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गरेका छन्।

‘चुनावका बेला झन् फेक समाचारको कारखानै खुल्न सक्छ। झुटको खेती गर्दै समाचारहरू बनाइन सक्छन्। सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत हुनुपर्छ’, नयाँ अनलाइन माध्यमका लागि शुक्रबार काउन्सिलमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भने।

उनले कुनै उम्मेदवार वा दलप्रति नियोजित प्रहार गर्ने, भ्रामक र तथ्यहीन समाचार बनाउने, बनाउन लगाउने जस्ता काम कोहीबाट पनि हुन नहुने, त्यसले सिङ्गो पत्रकारिता जगतको विश्वसनीयतामाथि आँच आउने बताए।

चुनावलाई स्वच्छ र निर्वाध ढङ्गले सम्पन्न गर्न मिडियाको ठूलो भूमिका हुने भएकाले मिथ्या सूचना, भ्रमपूर्ण समाचार र कसैप्रति दैशपूर्ण अभिव्यक्तिलाई सञ्चार माध्यममा कुनै हालतमा स्थान दिन नहुने बस्नेतले बताए।

बस्नेतले निर्वाचनमा सञ्चार माध्यमलाई दुरुपयोग हुन बाट जोगाउनुपर्ने र त्यसका लागि संयमित भएर सत्य, तथ्य, सन्तुलित समाचार सम्प्रेषण गर्न सुझाव दिए।

अभिमुखिकरणको १५औं श्रृङ्खलामा काउन्सिलका सदस्य दीपक पाण्डे र सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले सहभागीलाई पत्रकार आचारसंहिता तथा विभिन्न सञ्चार निर्देशिकाबारे विषय विज्ञका रूपमा अभिमुखिकरण गराएका थिए।

सूचना तथा प्रशारण विभागका निर्देशक एवं प्रवक्ता भरत गौतमले पत्रकार आचारसंहिताको पालनामा ध्यान दिनुपर्ने, जिम्मेवार पत्रकारिताका लागि पत्रकार आफैँ सचेत हुनुपर्ने बताए। उनले काउन्सिलले सुरूवात गरेको आचारसंहिता अभिमूखीकरण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिए।

प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूबारे जानकारी दिए। काउन्सिलले जारी गरेका महिला उत्तरदायी सञ्चार निर्देशिका, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, बालमैत्री सञ्चार निर्देशिका तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाका विभिन्न प्रावधान र नेपाली मिडियामा भइरहेका प्रयोगबारे उनले विश्लेषण गरेका थिए।

कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहजीकरण गरेका थिए भने भौतिक र भर्चुअल माध्यमबाट ३० वटा अनलाइनका सञ्चालक र सम्पादकको सहभागिता रहेको थियो।

कात्तिक ५, २०७९ शनिबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।