प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मिलन पाण्डेले भने– ‘कृष्णगोपाल श्रेष्ठलाई धन्यवादसहित बिदा गर्नुपर्छ’

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मिलन पाण्डेले भने– ‘कृष्णगोपाल श्रेष्ठलाई धन्यवादसहित बिदा गर्नुपर्छ’

काठमाडाैं : काठमाडौं क्षेत्र नं. ९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मिलन पाण्डेले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्।

शनिबार स्युचाटारमा आयोजित कार्यक्रममा स्थानीयहरूसँग अन्तरक्रिया गर्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन्। उनले यसपटक मतदाताहरू परिवर्तनको पक्षमा रहेकाले ३१ वर्षदेखि स्थापित एउटै अनुहारलाई धन्यवादसहित बिदा गर्नुपर्ने बताए।

विवेकशील साझा पार्टीका पूर्व संयोजक पाण्डेले पार्टी भित्र संविधानको पक्षमा उभिँदा तत्कालीन समयमा आफूमाथि भएको कारबाही फिर्ता नभएपछि विवेकशील अभियान अन्तर्गत साझा पार्टीको 'पाइला' चिन्ह लिएर उठेको समेत बताए।

सोही कार्यक्रममा विवेकशील अभियान र साझा पार्टी नेपालको तर्फबाट बागमती प्रदेश सभाको लागी २७ जना उम्मेदवारहरूकाे तर्फबाट पनि प्रतिबद्धता सार्वजनिक गरिएको थियो।

पाण्डेले आफू उम्मेदवारसँगै यही क्षेत्रको मतदाता समेत भएको हुनाले आफ्नो सांसदको रूपमा कृष्ण गोपाल श्रेष्ठले प्रतिनिधित्व गर्न नसकेको बताए।

कोभिडको बेलामा केहि नगरेको र शिक्षा मन्त्री भएको बेलामा विद्यार्थीहरूलाई हौसला दिनु सट्टा 'कोही छ माइकालाल?' भन्ने असान्दर्भिक भाषण गरेर युवाहरूको अपेक्षालाई घात गरेको समेत बताए।

पाण्डेले श्रेष्ठबाट संविधानलाई खतरा रहेको समेत बताए। श्रेष्ठले केपी ओलीले संसद् विघटन गर्दा केपी ओली खुलेर साथ दिएका थिए। 

पाण्डेले मतदाताहरूसँग आफूलाई सत्ता गठबन्धन र एमाले गठबन्धनलाई छोडेर भोट दिनुपर्ने ५ कारण बताए। उनले आफू इन्जिनियर भएको हुँदा विकासलाई वैज्ञानिक र परिणाममुखी तरिकाले बुझेको र आजको आवश्यकता विकास भएकोले आफूलाई अब्बल उम्मेदवारको रूपमा प्रस्तुत गरे।

पाण्डेले आफू ३३ वर्षको युवा भएकोले अहिलेको नयाँ परिवर्तनलाई थप नजिकबाट बुझेको बताए। 'गठबन्धन वा एमाले उम्मेदवार जित्दा संसद्मा केहि नयाँपन आउँदैन। एउटा इन्जिनियर युवा उठ्दा सांसदमै ताजापन आउँछ।'- कार्यक्रममा बोल्दै उनले भने।

पाण्डेले लोकतन्त्र आफ्नो आधारभूत राजनीतिक आस्था भएको बताए।

'यदि तपाईँको राजनीतिक आस्था पनि लोकतन्त्र हो भने, यसपालि यो क्षेत्रमा तपाईँका निम्ति उत्कृष्ट विकल्प हो।' - पाण्डेले भने।

नेपालको शिक्षा प्रणाली सुधार्ने आफ्नो व्यक्तिगत र राजनीतिक उद्देश्य भएको उनको भनाइ थियो। सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने र निजी विद्यालयमा लिने चर्को शुल्कलाई नियमन गराउन एक्लै भए पनि सांसदबाट नेतृत्व गर्ने उनको दामी थियो।

क्षेत्र नं. ९ मा एमालेबाट कृष्णगोपाल श्रेष्ठ र मिलन पाण्डेको मुख्य प्रतिस्पर्धा छ।

कात्तिक ५, २०७९ शनिबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।