कर्णाली प्रदेशका २६७ मतदानस्थल अतिसंवेदनशील

काठमाडौं: कर्णाली प्रदेशका सात जिल्लाका २६७ मतदानस्थल सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएका छन्। मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि दुई सय ६७ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन्।
जिल्लाका निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनअनुसार सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन्। कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन्।
त्यसमध्ये सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २०, रुकुमपश्चिमका २१, डोल्पामा २३ र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन्।
सुरक्षा समितिका अनुसार सात जिल्लाका ३२५ मतदानस्थल संवेदनशील रहेका छन्। जसमध्ये सुर्खेतका ६, दैलेखका ६२, सल्यानका तीन, रुकुमपश्चिमका ४३, डोल्पाका २६, कालीकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन्।
प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य रहेका छन्। कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा भने विपद्का कारणले गर्दा अहिले मतदानस्थलको अवस्था बुझ्न नसकिएको बताइएको छ।
अबको केही दिनमै मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ।
कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर ९३३ मतदानस्थल र एक हजार ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगका अनुसार कर्णालीमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार ४०३ मतदाता रहेका छन्।
कात्तिक ५, २०७९ शनिबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।