संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो: देव गुरुङ

काठमाडौं: माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन्। गठबन्धमा आबद्ध कांग्रेस निकट लमजुङ–काठमाडौं सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन भएको समेत बताए।
आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार समेत बनेका महासचिव गुरुङले भ्रष्टाचार, कमिशनतन्त्रको अन्त्य गर्दै सुशासनको अभियानमा गठबन्धन लागेको उल्लेख गरे। उनले कृषि, पर्यटन, जलविद्युत्मार्फत लमजुङको विकास गर्न सकिने बताउँदै यसका लागि पूर्वाधार निर्माणको खाँचो औँल्याए।
घरेलु उद्योग, कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्नसके लमजुङको विकास हुने उनको भनाइ छ। उनले मर्स्याङ्दी, चेपे, दोर्दी, मिदिम, रुदी तथा मादी नदीमा करिडोर निर्माण गर्नसके लमजुङलाई उत्तर–दक्षिण व्यापारिक नाकाको रूपमा विकास गर्न सकिने बताए।
कात्तिक ५, २०७९ शनिबार १३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।