पोखराका फेन्सी पसलमा पहिलोपटक अनुगमन, दुई पसललाई कारबाही

पोखराका फेन्सी पसलमा पहिलोपटक अनुगमन, दुई पसललाई कारबाही

पोखरा : पोखरा महानगरपालिकाभित्र रहेको फेन्सी पसलमा पहिलोपटक अनुगमन भएको छ।

शुक्रबार पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा फेन्सी पसलमा अनुगमन गरिएको हो।

फेन्सी पसलमा ग्राहकहरू ठगिएको गुनासो आउने गरेको भन्दै अनुगमन गरिएको समितिका सदस्य सचिव भरतराज पौडेलले जानकारी दिए। अनुगनका क्रममा दर्ताविना व्यवसाय सञ्चालन गरेको, नवीकरण नभएको र खरिद बिल नभएको फेला परेको उनले बताए।

अनुगमनका क्रममा महानगरले टोलीले पोखरा ट्रेड मलभित्र सञ्चालित ग्लोजम कुर्था पसल र सुस्मीन एण्ड सुशान्त स्टोर्सलाई पाँच÷पाँच हजार रूपैयाँ जरिवाना गरेको छ।

ग्लोजमले कपडा खरिद बिल नभएको र विनादर्ता सञ्चालन भएको भेटिएपछि जरिवाना गरिएको महानगरका सहकारी शाखाका ऋषिराम सापकोटाले जानकारी दिए । 

यस्तै, सुस्मीन एण्ड सुशान्त स्टोर्सले व्यवसाय नवीकरण नगरेको, ग्राहकलाई बिल नदिएको र बिल काट्दासमेत बिचका बिलहरू छुटाएको पाइएकाले जरिवाना गरिएको उनले बताए।

त्यस्तै, अधिकांश पसलमा बिल नभएको, व्यवसाय दर्ता नभएको पाइएकाले खरिद र बिक्री बिलसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

काठमाडौबाट ल्याउने सामानको विल कम जारी गर्ने र महंगोमा बिक्री गर्ने समस्या सबै व्यवसायीमा देखिएकाले यसबारे छुट्टै छलफल गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने देखिएको प्रशासन कार्यालयले जनाएको छ।

कात्तिक ४, २०७९ शुक्रबार २२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।