२ लाख ५० हजार हस्तान्तरण गरेपछि महामन्त्री शर्मालाई आयाेगले साेध्याे स्पष्टीकरण

२ लाख ५० हजार हस्तान्तरण गरेपछि महामन्त्री शर्मालाई आयाेगले साेध्याे स्पष्टीकरण
तस्बिर- नेपाल न्यूज बैंक

काठमाडाैं : निर्वाचन आयोगले आयोगले नेपाली काँग्रेसका महामन्त्री एवं झापा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ।

आयाेगले झापास्थित आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख पचास हजार रुपैयाँ रकम निरौलाको परिवारलाई हस्तान्तरण गरेकाे विषयमा स्पष्टीकरण साेधेकाे हाे।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ को (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षलाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ।

स्प्ष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंबाट रकम हस्तान्तरण भएको बारे के कसो भएका हो ? यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारवाही गर्न नपर्ने हो ?’

पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न आयोगले शर्मालाई निर्देशन दिएकाे छ।

कात्तिक ४, २०७९ शुक्रबार २१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।