बैंकहरूमा निक्षेप घट्यो, कर्जा प्रवाह बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंकहरूमा निक्षेपमा कमी आएको छ भने कर्जा प्रवाह बढेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार बैंकहरूको निक्षेप ०.९ प्रतिशतले घट्दा कर्जा प्रवाह ०.७ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.४ प्रतिशतले बढेको छ।
२०७९ भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.५ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३५.० प्रतिशत र ४९.२ प्रतिशत रहेको थियो।
२०७९ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.२ प्रतिशत रहेको छ। २०७८ भदौमसान्तमा यस्तो निक्षेपको अंश ४०.५ प्रतिशत रहेको थियो।
यस्तै, कर्जा प्रवाहतर्फ अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.५ प्रतिशतले बढेको छ।
२०७९ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६५.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३४.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले बढेको र विकास बैंकहरुको कर्जा प्रवाह १.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ।
२०७९ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७८ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.९ प्रतिशत र १२.२ प्रतिशत रहेको थियो।
कात्तिक ४, २०७९ शुक्रबार २०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।