टी–ट्वेन्टी विश्वकपको सुपर–१२ समीकरण पूरा, अस्ट्रेलिया र न्यूजिल्याण्डबीच पहिलाे खेल

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपको सुपर–१२ समीकरण पूरा भएको छ।
शुक्रबार भएको समूह ‘बी’को दोस्रो खेलमा जिम्बावेले स्कटल्याण्डलाई पराजित गरेसँग विश्वकपको सुपर–१२ समीकरण पूरा भएको हो।
स्कटल्याण्डले दिएको १३३ रनको लक्ष्य जिम्बावेले ९ बल बाँकी छँदै ५ विकेटको क्षतिमा भेट्टाएसँगै जिम्बावे सुपर–१२ मा प्रवेश गरेको छ।
उसका लागि क्राग इर्भिनले ५८ तथा सिकन्दरर राजाले ४० रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ जोस डाभीले दुई तथा ब्रेड ह्वेल, मार्क वाट र माइकल लिसकले समान एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन जोड्यो। उसका लागि जर्ज मुन्सीले ५४, कलुम म्याकलिडले २५, रिची ब्रिङ्टनले १३ तथा माइकल लिसकले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ टेन्डइ चतरा र रिचार्ड नगरभाले समान दुई–दुई विकेट लिँदा सिकन्दर राजाले एक विकेट लिए।
यसअघि समूह ‘बी’को आजै भएको पहिलो खेलमा दुईपटकको विश्वविजेता वेस्ट इन्डिजलाई पराजित गर्दै आयरल्याण्डले सुपर–१२ मा स्थान बनाएको छ।
समूह ‘ए’ बाट श्रीलंका र नेदरल्याण्ड सुपर–१२ मा प्रवेश गरेका छन्। योसँगै अब शनिबारदेखि विश्वकपको सुपर–१२ का खेलहरू सुरु हुनेछ। पहिलो खेलमा आयोजक अस्ट्रेलिया र न्यूजिल्याण्ढ भिड्दा दोस्रो खेल अफगानिस्तान र इंग्ल्याण्डबीच हुनेछ।
कात्तिक ४, २०७९ शुक्रबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।