एमालेलाई भोट माग्ने प्रधानाध्यापकलाई आयोगले सोध्यो स्पष्टिकरण

काठमाडाैं : निर्वाचन आयोगलले निर्वाचन आचारसंहिता विपरीत दल र उम्मेदवारको प्रचार प्रसारमा संलग्न भएका प्रधानाध्यापकलाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।
एमालेकाे चुनाव प्रचारमा संलग्न भएकाे जानकारीकाे आधारमा अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवरलाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हाे।
आयोगले यसअघि नै आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइसकेको छ।
आयोगले शिक्षक कुँवरलाई ‘तपाईं सरकारी विद्यालयको शिक्षक रहेको व्यक्ति दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको तथा शिक्षक पदमा बहाल रहँदा-रहँदै कुनै दलको सदस्य बन्नुभएको होइन भन्ने आधार के छ? यदि सदस्य बन्नुभएको हो भने तपाईंलाई राजनीतिक निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारबाही हुनु किन नपर्ने हो ?’ भनि स्पष्टीकरण पत्र पठाएको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ भने आचारसंहितामा निजहरूले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने तथा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारमा सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ।
कात्तिक ४, २०७९ शुक्रबार १७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।