प्रतिगमनको खतरा भएसम्म गठबन्धन रहन्छ : अध्यक्ष दाहाल

प्रतिगमनको खतरा भएसम्म गठबन्धन रहन्छ : अध्यक्ष दाहाल

बुटवल : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन जारी रहने बताएका छन्।

उनले चुनावसम्म मात्र गठबन्धन आवश्यकता नरहेको भन्दै देशमा अझै पनि प्रतिगमनको खतरा भइरहेकाले प्रतिगमनको खतरा कायम रहदा सम्म गठबन्धन जारी रहने बताए।

बुटवलमा भएको संयुक्त चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिले सबै एउटै डुंगामा भएको र जिते सबैले जित्ने तथा हारे सबैले हार्ने भएकाले गठबन्धन बीचमा कुनै पनि शंका हुन नहुने बताए।

साथै उनले संविधानको रक्षा, स्थायी विकास र निर्माणको लागि गठबन्धन अहिलेको आवश्यकता रहेको बताए।

अहिलेको निर्वाचनमा दुई गठबन्धनबीच ब्याटल हुन लागेको भन्दै देशलाई प्रतिगमनतर्फ लैजाने गठबन्धन र देश विकासतर्फ लैजाने गठबन्धनलाई जनताले चुन्नुपर्ने बताए।

साथै उनले नेकपाभित्र खबरदारी गर्दा गर्दै बहमुतको सरकारले सुशासन दिने, विकास दिनेको सट्टा निकै ठूलो अहंकारी बनेको, सुनियोजित तरिकाले भ्रष्टचार भएपछि हामीले त्यसका विरुद्ध आफूहरूले आवाज उठाएको बताए।

उनले भने, ‘यस्तो सोचविरुद्ध पार्टीभित्र संघर्ष गर्ने कोसिस गरेका थियौं। त्यो कोसिसलाई संसद विघटन गरेर जवाफ दिने काम भयो। पार्टीभित्र पराजय देखेपछि जनताको सार्वभौम संस्थालाई विघटन गराएर पार्टी भित्रको संघर्षको बदला लिने कार्य भयो। त्यो देशलाई प्रतिगमन तर्फ लैजाने कार्य नै थियो।’

प्रतिगमनलाई परास्त गर्न धेरै मेहनतपछि गठबन्धन बनेको बताउँदै एकाधिकारबाद लाई तोड्न पार्टीभित्र र बाहिरबाट पराजित गर्ने गरी गठबन्धन बनेको बताए।

कात्तिक ४, २०७९ शुक्रबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।