गठबन्धन अपरिहार्य, अझै १०/२० वर्षसम्म लैजान्छाैं : प्रधानमन्त्री देउवा

गठबन्धन अपरिहार्य, अझै १०/२० वर्षसम्म लैजान्छाैं : प्रधानमन्त्री देउवा

बुटवल : प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन अपरिहार्य रहेको भन्दै मंसिर ४ गते पछि पनि गठबन्धनकै सरकार बन्ने बताएका छन्।

बुटवलमा भएको संयुक्त चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले संविधान, गणतन्त्र स्थापित गर्ने गरी यो गठबन्धनलाई अझै १०/२० वर्षसम्म लैजाने बताए।

उनले भने, ‘गठबन्धनलाई कुनै पनि बाहनामा एकअर्का पार्टीबीच शंका उपशंका गर्ने छुट छैन। यो अहिलेको आवश्यकताले गठबन्धन बनेको हो। हामीले उदार दिलका साथ हामी माओवादी पक्षका लाग्नुपर्छ, समाजवादीको पक्षमा लाग्नुपर्छ। एकअर्कालाई विश्वास दिलाउनुपर्छ।’

साथै उनले अहिले संघीय व्यवस्थालाई खतम पार्ने र गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै संघीयता, गणतन्त्र बचाउन र संविधानको रक्षाका लागि गठबन्धनको आवश्यकता रहेको बताए।

उनले थपे, ‘अहिलेको बेला हाम्रो गठबन्धन छ, उहाँहरूले मलाई सम्मान गरेर प्रधानमन्त्री बनाउनुभएको छ। कांग्रेसको जिम्मेवारी गठबन्धन बलियो बनाउने भन्नेछ। अहिले पार्टी गठबन्धन जो छ, यसलाई बचाउन अति आवश्यक छ। यसका लागि कुनै पनि किसिमको शंका, उपशंका गर्ने ठाउँ दिनुहुँदैन।’

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गठबन्धनका कारण धेरैले चुनावमा टिकट नपाएको भन्दै अन्य स्थानमा पनि टिकट नपाएकाहरूले अवसर पाउने बताए।

उनले अगाडि भने, ‘अहिले सबैलाई टिकट चाहिएको छ। गठबन्धन छ जितिहाल्छु भन्ने छ। गठबन्धनले जित्छु भन्नु आशा पनि होला। सबैलाई आग्रह छ, धेरै ठाउँमा स्थान छ। आज नपरे भोलि पर्नसक्छ। राजनितीक नियुक्ति हुनसक्छ। त्यसैले अहिलेको सिस्टमको रक्षा गर्न अति आवश्यक छ।’

कात्तिक ४, २०७९ शुक्रबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।