मानव अधिकार आयोगद्वारा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल

काठमाडौं : आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि भइरहेको शान्तिसुरक्षाको तयारीका बारेमा राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गरेको छ।
शुक्रबार भएको छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए।
सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीको बारेमा जानकारी गराएका थिए।
छलफलमा आयोगका कार्यवाहक अध्यक्षका साथै सदस्यहरू मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, का. मु. सचिव मुरारिप्रसाद खरेल तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरीवरिष्ठ उपरीक्षक युवराज अर्याल एवम् सुरक्षा निकायका अधिकृत तथा आयोगका कर्मचारीहरूको उपस्थिति थियो।
कात्तिक ४, २०७९ शुक्रबार १६:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।