स्पष्टिकरण सोध्दा कोकोहोलो मच्चाउन थालिएको छ : प्रमुख आयुक्त थपलिया

काठमाडाैं : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन आचारसंहिता किन पालना भएन भनेर स्पष्टिकरण सोध्दा कोकोहोलो मच्याउन थालेकाे बताएका छन्।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको शुक्रबार प्रदेश नं. १ विराटनगरमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिताका सम्बन्धमा स्पष्टिकरणपछिकाे आयोगको निर्णयले भूकम्प आउने हो कि भनेर संशय गरेका छन्। उनले स्पष्टिकरण सोध्नुलाई कारबाही नभई यसको प्रारम्भ भएको स्पष्ट पारे।
उनले भने, ‘स्पष्टिकरणले तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि?’
निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गर्दै उनले व्यवस्थित, मर्यादित र विश्वसनीय निर्वाचनका लागि आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी दुुईवटा नारा अगाडि सारेको जानकारी गराए।
उनले भने, ‘पहिलो– निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुनु हुँदैन, निष्ठा विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं। दोस्रो- निर्वाचनको स्वच्छताको लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गरौं।’
नेपालको सन्दर्भमा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीतिगत व्यवस्था गर्ने आयोग नै पहिलो सार्वजनिक निकाय हो भन्न पाउँदा गर्वको अनुभूति भएको बताउँदै उनले भने, ‘आयोग चाहन्छ, निर्वाचनको समयमा राजनीतिक दल, उम्मेदवार र आम मतदाताले सामाजिक सञ्जालको भरपुर उपयोग गरी सुसूचित निर्णय लिन सकून्, संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको अभ्यास अझै मजबुद होस्।’
सामाजिक सञ्जालको उपयोगद्वारा निर्वाचनसम्बन्धी तथ्यहीन, गलत, भ्रामक र अनुमानित सूचना वा जानकारी सम्प्रेषण तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरबाट हुन सक्ने सम्भावित मिथ्या सूचना, दुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमनद्वारा निर्वाचनको विश्वसनीयता र निष्पक्षता जोगाउन आयोगले आवश्यक तयारी गरेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।
फरक प्रसङ्गमा उनले मतदाता नामावलीमा नाम भएको बालिग मतदाताले मतदाता परिचयपत्र नभएको कारणले मतदानबाट वञ्चित हुनुनपर्ने बताए।
कात्तिक ४, २०७९ शुक्रबार १४:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।