राज्यको कमजोरीमा खेल्दै कैलालीमा उदाएको नागरिक उन्मुक्ति पार्टी, डिल्लीबजार जेल हेडक्वार्टर

कैलाली : टिकापुर घटनामा सुरक्षाकर्मी अनि एक नाबालकको हत्या अभियोग अदालतबाट पुष्टि भएसँगै जन्मकैद पाएका रेसम चौधरी डिल्लीबजार कारागारमा छन्। तर हरेक निर्वाचनमा उनी जेल पर्नु नै कैलाली क्षेत्रका लागि ठुलो राजनीतिक अजेण्डा बन्ने गरेको छ।
सरकारी अनुसन्धान अनि अदालतबाट समेत घटना आकस्मिक नभई नियोजित रहेको र यसको योजनाकार चौधरी रहेको पुष्टि भए पनि कैलाली क्षेत्रमा भने यसलाई थारु समुदायमाथि राज्यले गरेको दमनका रूपमा हेरिँदै आएको छ। अनि राज्यले सही सम्बोधन गर्न नसक्दा त्यही जनभावलाई राजनीतिक रूपमा जेलभित्रबाटै उपयोग गरिरहेका छन् रेसमले।
पहिला मधेस केन्द्रित दलमा लागेका उनले स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टी गठन गरे नागरिक उन्मुक्ति पार्टी। कैलालीमा सो पार्टीको प्रभाव बलियो देखियो स्थानीय तहको निर्वाचनमा।
स्थानीय तहको निर्वाचनमा समेत उन्मुक्ति पार्टीले सो क्षेत्रको स्थानीय तहको प्रमुख/उपप्रमुख पदसहित अधिकांश वडामा जित्यो। त्यसैबाट हौसिएर कैलालीको तीन वटै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिएको छ।
नागरिक उन्मुक्ति पार्टीले कैलालीको क्षेत्र नम्बर १, २ र ३ मा उम्मेदवारी दिएको छ। अनि सत्ता गठबन्धन र एमाले दुवै दलका उम्मेदवारहरू आफ्नो प्रतिस्पर्धा सोही दलका उम्मेदवार भएको स्वीकार पनि गर्छन्।
यो क्षेत्रमा पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ। कैलालीको तीनै क्षेत्र हेर्दा नागरिक उन्मुक्ति पार्टी क्षेत्र नम्बर १ मा सबैभन्दा बलियो देखिन्छ। सो क्षेत्रमा यस अगाडि रेसम भूमिगत बसेरै जितेका थिए। क्षेत्र नम्बर २ मा उसले गठबन्धनकै बागी उम्मेदवारको बलमा जित्ने प्रयास गरेको देखिन्छ भने क्षेत्र नम्बर ३ मा राम्रै टक्कर दिने देखिन्छ।
आफ्नै श्रीमतीलाई पार्टी अध्यक्ष बनाए पनि पार्टीको सबै निर्णयको अधिकार भने डिल्लीबजार जेलमा रहेका रेसमले लिएका छन्। पार्टीको घोषणा पत्र बनाउनेदेखि लिएर चुनावी एजेन्डासम्म उनैले तय गर्ने गरेका छन्।
उनको मुख्य चुनावी नारा जातीय नै छ। उनले टिकापुरमा भएको हिंसात्मक घटनालाई थारुविरुद्ध राज्यले गरिरहेको दमनसँग लगेर जोड्ने गरेका छन्। नेपाल प्रहरी, सशस्त्र र एक नाबालकको ज्यान गएको सो घटनामा तत्काल स्थानीय थारुहरूमाथि भएको आक्रमणमा राज्यले विवेक प्रयोग गर्न नसक्दा स्थानीय थारु रेसमको जातीय नाराप्रति आकर्षित छन्।
राज्यले रेसमसहित सो क्षेत्रका स्थानीयको भएको जनधनको क्षतिको क्षतिपूर्ति र मुद्दा फिर्ता लिन मिल्नेहरूको हकसम्म मुद्दा फिर्ता लिएको पनि छ। तर अझैँ स्थानीय सो हिंसात्मक घटना राजनीतिक फाइदामा लागि रचिएको हो भन्ने स्विकार्न सकेका छैनन्। राज्यले बुझाउन सकेको छैन। त्यसको फाइदा रेसमले लिइरहेका छन्। त्यसको प्रभाव आगामी संसदीय निर्वाचनमा पर्ने निश्चित छ।
तीनै क्षेत्रमा नागरिक उन्मुक्तिको पकड
कैलालीको निर्वाचन क्षेत्र १ मा उन्मुक्ति पार्टीले रेसमकी श्रीमती तथा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठलाई प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनाएको छ। २०७४ मा रेसम सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
निर्वाचन क्षेत्र १ मा सबैभन्दा बढी टीकापुरका मतदाता छन्। स्थानीय तहको निर्वाचनमा टिकापुर नगरपालिकाको मेयरसहित अधिकांश वडा नागरिक उन्मुक्ति पार्टीले जितेको थियो। जानकी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षसहित वडाध्यक्षमा पनि उन्मुक्ति पार्टीले बहुमत पायो।
स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धन थियो । टीकापुर नगरपालिकाभित्र वडाध्यक्षले प्राप्त गरेको मतअनुसार भने उन्मुक्ति पार्टीको मत सत्ता गठबन्धनको भन्दा बढी छैन ।
प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट कांग्रेसका थारु नेता रामजनम चौधरी उम्मेदवार छन्। उनी २०७४ मा क्षेत्र नम्बर ३ बाट तत्कालीन लोकतान्त्रिक फोरमबाट चुनाव जितेका थिए। एमालेबाट तपेन्द्रबहादुर रावल उम्मेदवार छन्।
प्रदेशसभामा क्षेत्र १ को प्रदेशसभा (१) मा गठबन्धनबाट डा. रणबहादुर कांग्रेसबाट र प्रदेशसभा (२) मा माओवादीका दीर्घराज बिनाडी उम्मेदवार छन्।
कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभामा कांग्रेस छोडेर गएका अरुण चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदेशसभामा एमालेका पूर्व जिल्ला अध्यक्ष रतन थापालाई उम्मेदवार बनाएको छ। गठबन्धनबाट माओवादीका भगतबहादुर बडुवाल र एमालेबाट झपटबहादुर रावल उम्मेदवार छन् ।
क्षेत्र नम्बर १ मा जस्तो २ मा नागरिक उन्मुक्ति पार्टी बलियो देखिएको छैन। स्थानीय तह निर्वाचनमा लम्की चुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाको प्रमुख पदमा सत्ता गठबन्धन र विपक्षी एमालेले जितेको थियो।
लम्की चुहामा कांग्रेसकी सुशीला शाही र बर्दगोरियाको अध्यक्षमा एमालेका कर्णबहादुर कुँवर विजयी भए। लम्की चुहाको उपमेयरमा एमाले र बर्दगोरियाको उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जिते। अधिकांश वडामा गठबन्धन र एमालेका उम्मेदवार विजयी भएका थिए।
क्षेत्र नम्बर ३ मा गठबन्धनबाट माओवादीका कृष्णबहादुर चौधरी प्रतिनिधिसभामा उम्मेदवार छन् । नागरिक उन्मुक्तिबाट गङ्गाबहादुर चौधरी प्रतिनिधिसभाका उम्मेदवार छन्। एमालेबाट गौरीशङ्कर चौधरी उम्मेदवार छन् ।
कात्तिक ४, २०७९ शुक्रबार १४:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।