क्षतिग्रस्त कर्णाली राजमार्गमा पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै

काठमाडौं: गत असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरूपमा क्षति भएको छ। माथिल्लो कर्णालीबासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग अहिले बाढी पहिरोले ठप्प हुँदा नागरिकलाई सास्ती भएको छ।
स्थानीय प्रशासन, स्थानीय तह र सडक डिभिजन कार्यालयका प्रतिनिधि राजमार्गको पहिरो हटाउन रातदिन सडकमै रहेर तीव्र गतिमा काम गरिरहेको कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए।
कर्णाली राजमार्ग पूर्णरूपमा खुल्न अब २६ किलोमिटर मात्र बाँकी रहेको छ। जुम्ला–सुर्खेत सडकखण्डको दुई सय ३२ किलोमिटरमध्ये २६ किलोमिटर कालिकोटको शेराबाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
सुर्खेतदेखि कालीकोटको शेराबाडासम्म सवारी साधन सहजरूपमा चलिरहेका छन्। कार्यालय प्रमुख श्रेष्ठले भने, “झन्डै १५ देखि २० डोजर पहिरो पन्छाउन काममा प्रयोग गरिएको छ।”
ठूलाठूला ढुङ्गाको पहिरो आएकाले ब्लास्ट गर्ने काम पनि भइरहेको छ। प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, सडक डिभिजन कार्यालय र नेपाली सेनाको सक्रियतामा सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए।
नाग्म–गमगढी राजमार्गको जम्मा ९३ किलोमिटरमध्ये १३ किलोमिटरभित्रको पहिरो हटाउन काम बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
कात्तिक ४, २०७९ शुक्रबार १३:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।