बीपी कोइराला मेरा पनि नेता हुन्: शहरी विकासमन्त्री मेटमणि चौधरी

दाङ: शहरी विकासमन्त्री मेटमणि चौधरीले बीपी कोइराला आफ्नो पनि नेता भएको बताएका छन्। घोराही–२, पलासेमा बिहीबार आयोजित बाम लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।
उनले आफूले विकासका काममा यो दल त्यो दल भन्ने नगरेको बताएका छन्। सांसद हुनेबित्तिकै संसद विकास कोषको रकमबाट पहिलो वर्ष नै बीपी स्मृति भवनका लागि १५ लाख र त्यसपछि क्रमशः थप्दै ८० लाख हालेको पनि उनले बताए।
'फेरि फिनिसिङ गर्नका लागि एक करोड थप रकम उपलब्ध गराउँदै छु। किनकि बीपी कोइराला मेरा पनि नेता हुनुहुन्छ। मैले त्यतिबेला कांग्रेससँग गठबन्धन हुने कल्पना गरेर बजेट दिएको त थिइनँ', उनले भने।
अब यसपटक जनमोर्चाका साथीहरूले भवन बनाइदिन अनुरोध गरेकाले त्यो भवन पनि बनाइने उनले बताए।
‘सांसद विकास कोषको पैसा बाँड्दा समेत सबै दलका नेताहरूलाई बोलाएरै बाँडफाँट गरेको थिएँ। विकास सबैको साझा चाहना भएकोले सबैलाई मिलाएर हिँड्न जरुरी छ। जनतालाई विभाजन गरेर कसैको हित पनि हुँदैन’, मन्त्री चौधरीको भनाइ थियो।
कात्तिक ४, २०७९ शुक्रबार १०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।