मङ्गलबारको सूर्यग्रहणः तुला राशिलाई अतिकष्ट, मेष राशिलाई स्त्रीपीडा

मङ्गलबारको सूर्यग्रहणः तुला राशिलाई अतिकष्ट, मेष राशिलाई स्त्रीपीडा

काठमाडौं: आउँदो मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा हुनेछ।

वृष राशि भएकालाई सुख, मिथुन राशि भएकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ।

यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ। कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ।

दिउँसो ४ः५२ बजेदेखि ग्रहणले स्पर्श गर्नेछ। ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ।

नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ। बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ।

शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि नै बाल, वृद्ध र आतुरबाहेकलाई भोजन निषेध हुने पनि समितिको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ।

कात्तिक ४, २०७९ शुक्रबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।