बन्दिपुरमा ११ वर्षकी बालिकाको चितुवाको आक्रमणबाट मृत्यु

बन्दिपुरमा ११ वर्षकी बालिकाको चितुवाको आक्रमणबाट मृत्यु

तनहुँ: बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो। बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए। चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो।

“घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ”, उनले भने। बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन्।

पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ। गत असारमा बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको चितुवाकै आक्रमणबाट मृत्यु भएको थियो। बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए।

चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन्।

कात्तिक ४, २०७९ शुक्रबार ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।