केपी ओलीसँग फोन संवाद गर्न एक लाख ७१ हजारले टिपाए नाम, आज कुराकानी हुने

काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सर्वसाधारणसँग टेलिफोन संवाद गर्ने भएका छन्। मङ्गलबार अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत टेलिफोन संवाद गर्न चाहनेलाई आफ्नो मोबाइल नम्बर मेसेज गर्न आह्वान गरेका थिए।
जसअनुसार बिहीबार दिउँसो १२ बजेसम्म एक लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयले जनाएको छ।
ओलीसँग संवाद गर्न चाहनेको सङ्ख्या धेरै भएपछि हिजै दिउँसो १२ बजेपछि नाम टिप्न बन्द गरिएको पनि सचिवालयले जानकारी दिएको छ।
आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग राय लिन ओलीले टेलिफोन संवाद गर्ने भएका हुन्।
'मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म एक लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ। भोलि हाम्रो कुराकानी हुनेछ। हामी तयार छौँ नि?', ओलीले हिजो लेखेका थिए।
कात्तिक ४, २०७९ शुक्रबार ०८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।