कलंकीदेखि धोबीखोलासम्म ६ लेन सडक छिट्टैः ईश्वर पोखरेल

कलंकीदेखि धोबीखोलासम्म ६ लेन सडक छिट्टैः ईश्वर पोखरेल

काठमाडौं: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि आफूहरू सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको बताए।

सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनले दावी गरे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरु हुने विश्वास व्यक्त गरे। धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनले बताए।

कार्यक्रममा सहभागीहरूले गठबन्धनका नेताको घर परेका कारण कलंकी धोबीखोला ६ लेन निर्माण रोकिएको भन्दै पोखरेलसँग गुनासो गरेका थिए।

कात्तिक ४, २०७९ शुक्रबार ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।