व्यवसायमैत्री वातावरण बनाउन प्रतिबद्ध: पर्यटनमन्त्री श्रेष्ठ

व्यवसायमैत्री वातावरण बनाउन प्रतिबद्ध: पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध रहेको बताएका छन्। मारवाडी सेवा समितिले काठमाडौंमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले निजी क्षेत्रले भोग्नुपरेका समस्यालाई समाधान गर्दै व्यवसायमैत्री वातावरण बनाउन आफूहरू क्रियाशील रहने बताएका हुन्।

मन्त्री श्रेष्ठले दीगो अर्थतन्त्र निर्माणका लागि विभिन्न क्षेत्रमा सुधार आवश्यक रहेको बताए। उनले नीतिगत सुधार, क्षमता विस्तार जस्ता व्यवसायिक सुधारका कामहरू अघि बढाउनुपर्ने पनि बताए। उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको समेत उनले दावी गरे।

उनले लोकतन्त्र संस्थागत नभई आर्थिक विकास र विभिन्न  पेशा, व्यवसाय र रोजगारीमा संलग्न नागरिकको अधिकार सुरक्षित नहुने पनि बताए। कार्यक्रममा प्रदेश सभाका उम्मेदवार राजुराज जोशीले नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन आफूहरू लागिपर्ने बताए।

कार्यक्रममा समितिका अध्यक्ष कैलाश गोयल लगायत पदाधिकारीहरूले मारवाडी सेवा समितिले गरिरहेका सामाजिक सेवाका कामहरूबारे जानकारी दिएका थिए।

कात्तिक ४, २०७९ शुक्रबार ०८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।