माननीय बनेर संसद् भवन फर्कन सहज छैन गोकुललाई

माननीय बनेर संसद् भवन फर्कन सहज छैन गोकुललाई

काभ्रे : २०७४ को निर्वाचनमा जति सहजै काभ्रे-२ बाट गोकुल बास्कोटा एमालेबाट सांसद भने यो पाली त्यतिकै कठिन देखिन्छ उनको सांसद यात्रा। गत निर्वाचनमा उनी एमाले र माओवादीको साझा उम्मेदवार थिए। यो पटक एक्लो।

उनले यसपालि पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता शिव हुमागाईँसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। काभ्रे-२ मा यी दुवै उम्मेदवारसहित १६ उम्मेदवार छन्। तर सांसदका लागि मुख्य प्रतिस्पर्धी यी दुई नै देखिन्छ।

मङ्सिर ४ मा हुने निर्वाचनका लागि काभ्रेमा ३ लाख १० हजार ६३ मतदाता रहेकोमा क्षेत्र नम्बर २ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन्।

२०७० को निर्वाचनमा कांग्रेसका कञ्चनचन्द्र बादेसँग पराजित भएका बास्कोटा २०७४ मा ५४ हजार ४ सय २७ मत ल्याएर विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मधु आचार्य उनीभन्दा १७ हजार ८ सय ४८ मतले पछि पारेका थिए।

तर सोही नतिजा दोहोर्याउन बास्कोटालाई सहज छैन। पहिलो त त्यो बेला उनलाई माओवादी केन्द्रको साथ थियो। अहिले माओवादी केन्द्र गठबन्धनमा छ। दोस्रो एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा काभ्रे एमालेमा त्यसको बलियो प्रभाव परेको छ। एकीकृत समाजवादी पनि गठबन्धनमा छ।

अर्को २०७४ को जस्तो बलियो सामाजिक छवि छैन उनको। सञ्चारमन्त्रीहुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोडको डिल भएको अडियो बाहिरिँदा उनले राजीनामा दिन बाध्य भएको थियो। त्यसले काभ्रेलाई नै ७० करोडको जिल्ला भन्नेसम्मको नकारात्मक उपमा बनेको थियो।

अर्को छुच्चो स्वभावका कारण बास्कोटा एमाले वृत्तमा पनि पार्टी अध्यक्ष केपी ओली खेमाभित्र मात्र रुचाइने नेता हुन्। पार्टीभित्रको अन्य गुटले उनलाई रुचाउँदैनन्। तेस्रो महेश बस्नेतसँग उनको ३६ से आँकडा छ। त्यसको असर पनि काभ्रे-२ मा पर्न सक्छ।

बास्कोटाका प्रतिस्पर्धी कांग्रेस नेता हुमागाईँ काभ्रेका पुराना नेता भए पनि अहिलेको युवा पुस्तामा उनको बलियो पकड देखिँदैन। पुराना पुस्ताका मतदातामाझ भने उनी परिचित नेता हुन्।

उनी अहिलेको क्षेत्र नं २ नै पर्ने तत्कालीन क्षेत्र नं ३ बाट २०५६ सालमै सांसद भइसकेका नेता हुन्। पार्टीभित्रको लफडासँगै माओवादी केन्द्र र एकीकृत समाजवादीको भोट रुखमा हलाउने चुनौती छ उनमा।

स्थानीय तहले देखाउने सङ्केत

स्थानीय तह निर्वाचनको मत परिणाम बास्कोटाको पक्षमा देखिएको छैन।

काभ्रे–२ मा मण्डनदेउपुर, पाँचखाल, बनेपा नगरपालिका र भुम्लु गाउँपालिकाका सबै वडा, धुलिखेल नगरपालिकाका १२ मध्ये ७ वटा वडा, पनौती नगरपालिकाका १२ मध्ये ५ वटा वडा, बेथानचोक गाउँपालिकाका ५ वटा वडा पर्छ ।

क्षेत्र नम्बर २ मा पर्ने ६६ वडा मध्ये ४१ वटामा गठबन्धन दल र २५ वटामा एमाले उम्मेदवार विजयी भएका थिए स्थानीय तहको निर्वाचनमा।

मण्डनदेउपुर, पाँचखाल, बनेपा र पनौती, बेथानचोक, भुम्लुमा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका थिए। धुलिखेल नगरपालिकामा एमालेका उम्मेदवार मेयर निर्वाचित भए। बनेपा, पनौती र पाँचखालमा एमालेबाट उपप्रमुखले मात्र जितेका थिए।

कात्तिक ३, २०७९ बिहीबार २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।