नवौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

पोखरा : गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ।

बिहीबार पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा आर्मीलाई एपीएफले सोझो सेटमा पराजित गरेको हो। एपीएफले २५–२१, २७–२५ र २६–२४ ले खेल आफ्नो पक्षमा पार्दा आर्मीले रजतमै चित्त बुझाउन बाध्य भयो।

एपीएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभमा कमजोरी हुँदा अंक बटुल्न सफल भएको बताए। आफूहरूको ब्लक र डिफेन्स बलियो हुँदा आर्मीको दबदबा तोड्न सफल भएको उनको भनाइ छ।

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो।

एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो। यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो।

कात्तिक ३, २०७९ बिहीबार १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।