प्रत्यक्षतर्फको ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ।
बुधबार प्रतिनिधि सभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेश सभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै पहिलो हुने निर्वाचित हुने प्राणालीतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ।
हालसम्म १ करोड २८ लाख ४९ हजार ५०० मतपत्र छपाइ भइसकेको छ। जसमा प्रदेश सभातर्फको ६४ लाख ३२ हजार ५०० र प्रतिनिधि सभातर्फ ६४ लाख १७ हजार रहेको छ।
हाल कायम रहेको १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि करिब ४ करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि करिब ४ करोड मतपत्र आवश्यक पर्नेछ।
यसअघि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ भने प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
सुदुरपश्चिम प्रदेशमा ढुवानी सुरु
बिहीबारदेखि सुदुरपश्चिम प्रदेशका जिल्लाहरूमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी शुरु भएको छ। कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्जुलालगायतका जिल्लाहरूमा मतपत्र ढुवानी भएको छ । बागमती, मधेश र प्रदेश नं. १ का जिल्लाहरूमा भने यसअघि नै मतपत्र ढुवानी भइसकेको छ।
कात्तिक ३, २०७९ बिहीबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।