चार स्वर्णसहित १० पदक जितेर टेनिसमा आर्मी च्याम्पियन

पोखरा: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय टोली नेपाली सेना चार स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ। यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर द्वितीय बन्न सफल भएको छ।
बागमती प्रदेशले एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जित्न सफल भएको छ। नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझाएको छ।
यसैगरी आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक जित्न सफल भए। पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट हाडालाई ७–६, ६–३ सेटमा जित निकाल्दै स्वर्ण पदक जित्न सफल भए।
नेपालको पहिलो वरीयताका खड्काले स्वर्ण जित्दा हाडाले कास्यमा चित्त बुझाउन बाध्य भए।
यसैगरी महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै इरा रावतलाई ६–१, ६–६ सेटमा पराजित गर्दै स्वर्ण जित्न सफल भइन्।
पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्य हात पारे।
महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जित्न सफल भए।
पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडीले रजत पदक जितेको छ।
गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जिते।
महिला युगलविधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा बागमतीका प्रकृति श्रेष्ठ र रायना शाहको जोडीले रजत पदक जित्न सफल भए। सेनाका इशाश्री शाह र सुभाङ्गी लक्ष्मी शाहको जोडी र सशस्त्रका सुनिरा थापा र सर्भानी श्रेष्ठको जोडीले कास्य जित्न सफल भए।
टेनिसको मिश्रित युगलको विधामा सेनाका प्रणव र अभिलाषाको जोडीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुङको जोडीले रजत पदक जिते।
सेनाका अनिल साई र प्रीति बरालको जोडी र सशस्त्रका गोविन्द नेपाली र इशाश्री शाहको जोडीले कास्य पदक जित्न सफल भए। टेनिसको टिम इभेन्ट विधामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाली सेनाले स्वर्ण पदक जितेका छन्।
कात्तिक ३, २०७९ बिहीबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।