नवौँ राष्ट्रिय खेलकुद: प्राक्टिस म्याचको नतिजा नै आधिकारिक, गण्डकी र आर्मी विजयी

नवौँ राष्ट्रिय खेलकुद: प्राक्टिस म्याचको नतिजा नै आधिकारिक, गण्डकी र आर्मी विजयी

पोखरा: नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पदक पुरुषतर्फ गण्डकी र महिलातर्फ आर्मीले हात परेको छ। प्याराग्लाइडिङ प्रतियोगिताको दौरान दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको खेल असोज २८ गते गरिएको प्राक्टिस म्याचको नतिजालाई नै आधिकारिक मानेर पुरस्कार वितरण गरिएको हो।

दुर्घटना हुनुभन्दाअगाडिको खेलको नतिजालाई आधार मानेर पुरस्कार वितरण गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले बताए। उनका अनुसार क्रसकन्ट्री, टिम क्रसकन्ट्री र अक्युरेसी विधामा भएका खेलमा टिमका तर्फका सहित एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान ३/३ स्वर्ण जितेका थिए।

त्यसकै आधारमा क्रमकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ। खेलाडी विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कुल २७५० अंकसहित स्वर्ण पदक हात पारेको छ।

विभागीय टिम नेपाल आर्मी क्लबले क्रस कन्ट्रीमा रजत पदक जितेको छ। कुल २५५५.९ अंकसहित आर्मीले रजत पदक जितेको हो।

टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए। सोही टिमका निसिम थापाको दुर्घटनामा असोज ३० गते मृत्यु भएको थियो।

त्यस्तै, बागमती प्रदेशले क्रसकन्ट्रीमा कास्य पदक हात पारेको छ। कास्य जितेको बागमती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए।

उनीहरूले कुल २१४८.३ अंक प्राप्त गरेको संघले जनाएको छ।

कात्तिक ३, २०७९ बिहीबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।