प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक, पोखरा रङ्गशालामा अर्धकदको सालिक राखिने

पोखरा: नवौँ राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रङ्गशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ। प्याराग्लाइडिङ खेलको प्रतिस्पर्धाका क्रममा गत असोज ३० गते पोखराको सराङकोटमा दुर्घटनामा परेर थापाको मृत्यु भएको थियो।
बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११५औँ बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरूप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए।
यस्तै खेलकै क्रममा मृत्यु भएकाले थापाको सम्मानमा मानार्थ स्वर्ण पदक दिइने समेत निर्णय गरिएको प्याराग्लाइडिङ प्रतियोगिताका मुख्य निरीक्षक योगेश भट्टराईले बताए।
गोरखा स्थायी घर भई हाल पोखरा–१० मा बस्दै आएका थापाको घरमै पुगेर पदक हस्तान्तरण गरिने उनले जानकारी दिए।
कात्तिक ३, २०७९ बिहीबार १२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।