नवौँ राष्ट्रिय खेल: पाँच हजार मिटरमा पार्की, दुई सय मिटरमा शिवराज र निशालाई स्वर्ण

नवौँ राष्ट्रिय खेल: पाँच हजार मिटरमा पार्की, दुई सय मिटरमा शिवराज र निशालाई स्वर्ण

पोखरा: नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज बिहान भएको एथ्लेटिक्स विधाको पाँच हजार मिटर दौडमा सशस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन्। पार्कीले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।

यस स्पर्धामा कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले रजत पदक जिते। उनले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ९३ सेकेण्डमा पूरा गरे।

त्रिभुवन आर्मी क्लबका मुकेश पालले कास्य जिते। उनले निर्धारित दूरी १४ मिनेट ३६ दशमलव ६० सेकेण्डमा पूरा गरे।

पुरुष दुई सय मिटरमा शिवराजको स्वर्ण

त्यसैगरी दुई सय मिटर पुरुष दौडमा शिवराज पार्कीले स्वर्ण जिते। एपीएफका खेलाडी उनले निर्धारित दूरी २१ दशमलव ९१ सेकेण्ड समय खर्चदै पूरा गरे। नवौँ खेलमा उनको यो तेस्रो स्वर्ण पदक हो।

यसअघि उनले पुरुष एक सय मिटर दौड र रिलेमा स्वर्णपदक जितेका थिए।

यही स्पर्धामा एपीएफका आशिष चौधरीले रजत जिते। चौधरीले निर्धारित दूरी २२ दशमलव ०५ सेकेण्डमा पूरा गरे।

त्रिभुवन आर्मी क्लबका युवराज विकले कास्य पदक जिते। युवराजले २२ दशमलव ५० सेकेण्ड लगाएर दूरी पूरा गरे। एपीएफका गोपीचन्द्र र शिवराज दाजुभाइ हुन्।

महिला दुई सय मिटरमा निशाको स्वर्ण

सोही स्पर्धाको महिलातर्फको विधामा लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितिन्। नवौँ राष्ट्रिय खेलमा उनको यो पहिलो स्वर्ण पदक हो।

उनले निर्धारित दूरी २५ दशमलव २४ सेकेण्डमा पूरा गरिन्। त्यस्तै एपीएफकी रमिताकुमारी थारुले २५ दशमलव ९५ सेकेण्ड समय खर्चदै रजत पदक जितिन्।

नेपाल प्रहरीकी लक्ष्मी साउदले कास्य पदक हात पारिन्। उनले २७ दशमलव ५२ सेकेण्ड समय लगाउँदै कास्य पदक जितेकी हुन्।

कात्तिक ३, २०७९ बिहीबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।