भव्य कार्यक्रमसहित नवौँ राष्ट्रिय खेलकुद आज समापन हुँदै

भव्य कार्यक्रमसहित नवौँ राष्ट्रिय खेलकुद आज समापन हुँदै

पोखरा: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ। गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको प्रतियोगिता आज भव्य कार्यक्रमबीच समापन हुनेछ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका व्यक्तिहरूको उपस्थितिमा नवौँ राष्ट्रिय खेलकुदलाई बिदाई गरिनेछ।

गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए। प्रतियोगिता प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालका अनुसार समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम गरिनेछ।

यसपटकको राष्ट्रिय खेलकुदमा हालसम्म विभागीय त्रिभुवन आर्मी क्लब तीन सय १४ पदक जितेर शीर्ष स्थानमा छ। प्रतियोगितामा सेना च्याम्पियन बन्ने निश्चित भएको छ। सेनाले एक सय ५० स्वर्ण, ९४ रजत र ७० कास्य पदक जितेको छ।

यस्तै नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित एक सय ५८ पदक हात पार्दै दोस्रो स्थानमा छ। एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित एक सय ७६ पदक जितेको छ।

आयोजक गण्डकी प्रदेश प्रदेशगतरूपमा पदकमा अग्रस्थानमा छ। गण्डकीले हालसम्म  २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित एक सय ६ पदक जितेको छ।

बागमती प्रदेशले २२ स्वर्ण,४२ रजत र ५९ कास्यसहित एक सय २३ पदक, एनआरएनएले १० स्वर्ण आठ रजत र ६ कास्यसहित २४ पदक,  प्रदेश नं १ ले नौ स्वर्ण, २२ रजत र ४४ कास्यसहित ७५ पदक, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण ६ रजत र ३३ कास्यसहित ४७ पदक र मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २१ कास्यसहित ५९ पदक जितेको छ।

लुम्बिनी प्रदेशले चार स्वर्ण, १८ रजत र ३७ कास्यसहित ५९ पदक जित्दा कर्णाली प्रदेश दुई स्वर्ण, तीन रजत र ११ कास्यसहित १६ पदक जितेर पदक तालिकाको पुछारमा छ।

कात्तिक ३, २०७९ बिहीबार ०७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।