प्रहरी, वकिल र अदालतको सहमतिमा कमेडियन अपूर्वमाथि अन्याय, चार मुद्दाको तयारी

प्रहरी, वकिल र अदालतको सहमतिमा कमेडियन अपूर्वमाथि अन्याय, चार मुद्दाको तयारी

काठमाडौँ : जिल्ला न्यायाधिवक्ता कार्यालय काठमाडौँले कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध चार वटा अभियोगमा अभियोग पत्र दर्ताको तयारी गरेको छ।

नेवा: संस्कृति र भाषाको खिल्ली उडाएको आरोपमा  सिंहविरुद्ध प्रहरीले अनुसन्धान सकाएर चार मुद्दा चलाउन प्रस्तावित राय दिएको थियो। 

एक सय चार नेवा: अभियन्ताले सिंहविरुद्ध काठमाडौँ जिल्ला प्रहरी परिसरमा जाहेरी दिएको आधारमा उनीमाथि अनुसन्धान भएको थियो।

प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १६० अन्तर्गत भेदभावपूर्ण व्यवहार गर्न नहुने, दफा ६५ अन्तर्गत सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ अन्तर्गत जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ अनुसार अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसुर आकर्षित हुने प्रस्ताव गरेको छ।


प्रहरीले गर्ने प्रस्ताव नै अन्तिम हैन। जिल्ला न्यायधिवक्ताले चाहेमा समेटिएका प्रमाणका आधारमा अभियोग थपघट गर्न सक्छन्। तर बिहीबार सिंहविरुद्ध चारै अभियोगमा अभियोग पत्र दर्ताको तयारी भइसकेको छ।

अपूर्वले गत १० भदौमा ‘स्ट्यान्ड अप कमेडी’ भिडियो युट्युबमा अपलोड गरेपछि नेवा: संस्कृतिमाथि मजाक उडाइएको भन्दै आलोचना भएको थियो।

नेवा: अभियन्ताहरूले उनी विरुद्ध जाहेरी दिएपछि १२ भदौमा अपूर्व पक्राउ परे। अपूर्वले उक्त भिडियो युट्युबबाट हटाएर नेवा: अभियन्ताहरूसँग माफी मागेका थिए।

तर, प्रहरीले उनलाई हिरासतमा लियो। अदालतले उनलाई हिरासतमा राख्न अनुमति दियो। हिरासत बसेको ११ दिनपछि उनमा कोभिड सङ्क्रमण देखिएपछि प्रहरीले तारेखमा छाडेको थियो।

मुद्दा बुझाउन प्रहरीले उनलाई सोमबार सरकारी वकिल कार्यालय बोलाएर पक्राउ गरेर पुनः हिरासतमा राखेको छ।

अभियोग पत्र दर्तासँगै थुनछेक बहस टुङ्गिएपछि मात्र उनी कारागार या रिहाको टुङ्गो लाग्नेछ।

कात्तिक ३, २०७९ बिहीबार ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।