आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको घर बहाल कर अब महानगरले नै उठाउने

आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको घर बहाल कर अब महानगरले नै उठाउने

मोरङ: विराटनगर महानगरपालिकाले अब घर बहाल कर आफैँ उठाउने भएको छ। महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए।

यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो।

संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ। प्रमुख कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न पनि स्थानीयलाई आग्रह गरे।

विराटनगर महानगरले अझैसम्म पनि सोचेजस्तो घर बहाल कर उठाउन सकेको छैन। अन्तरक्रियामा वडाध्यक्षहरूले आफ्ना वडामा ठूल–ठूला व्यावसायिक फर्म भए पनि आफूहरूले कर सङ्कलन गर्न नसकेको बताएका थिए। धेरै व्यवसायी करको दायराभन्दा बाहिर रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले महानगरको विकासका लागि कर सङ्कलनमा कठोर बन्नुपर्नेमा जोड दिएका थिए।

सो अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख डा डिवी क्षेत्री र कर अधिकृत विमल पौडेलले स्थानीय तहले लिनसक्ने करका किसिम र करको सदुपयोगका विषयमा कार्यपत्र प्रस्तुत गरेका थियो।

कर सङ्कलनका लागि महानगर र आन्तरिक राजस्व कार्यालय एकअर्काका परिपूरक भएकाले आगामी दिनमा दुवै निकायबीच समन्वय गरेर अगाडि बढ्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।

कात्तिक ३, २०७९ बिहीबार ०७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।