जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धन छाडेँ : अध्यक्ष यादव

काठमाडाैं : जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताएका छन्।
बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै यादवले जसपालाई २१ सिट मात्रै दिएर पूरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीतिसहित पार्टीलाई समाप्त पार्न खोज्ने कांग्रेस र माओवादी केन्द्रको चक्रव्यूहबाट निस्कन सफल भएको बताए।
प्रतिनिधि सभा सदस्य पदमा ८१ र प्रदेश सभामा एक सय ४५ स्थानमा जसपाले उम्मेदवारी दिएको छ भने १७ ठाउँमा प्रतिनिधि सभा र ४२ ठाउँमा प्रदेश सभा सिटमा एमालेसँग तालमेल गरेको छ।
‘संसद् विघटनपछि देशमा लोकतन्त्रको रक्षा र जनताको अधिकारका लागि जसपा नेपाललगायत ५ दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा सहभागी भयौं,'उनले भने, 'तर, कांग्रेस र माओवादले जसपालाई धोका दिए, जसको ज्वलन्त उदाहरण जनकपुर, विराटनगर र वीरगन्जलाई लिन सक्छौं।’
यादवले मधेसलाई समृद्ध बनाउन र मधेसीहरूको अधिकार स्थापित गर्न जसपाले मात्रै सक्ने दाबी गरे। उनले देशको मार्गदर्शन गर्ने जिल्लाका रूपमा चिनिएको सप्तरीबाटै पुनः चुनाव जितेर मधेस र देशलाई समृद्ध बनाउने उनको भनाइ थियो।
कात्तिक २, २०७९ बुधबार २२:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।