नवौं राष्ट्रिय खेलकुद : भारत्तोलन नेपाल पुलिस १२ स्वर्णसहित च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद : भारत्तोलन नेपाल पुलिस १२ स्वर्णसहित च्याम्पियन

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब १२ स्वर्ण जित्दै भारत्तोलन प्रतियोगितामा च्याम्पियन बनेको छ।

पुलिसले २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा पुलिस सर्वाधिक १२ स्वर्ण र ७ रजत गरी कुल १९ पदक जित्दै च्याम्पियन बनेको हो।

दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो। आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पार्यो। सुदूरपश्चिमले ३ स्वर्ण र ३ कास्य जित्दा एपीएफले १ स्वर्ण, ६ रजत र २ कास्य भित्र्यायो। मधेश प्रदेशले १ रजत र ७ कास्य जित्न सफल भयो।

घरेलु टोली गण्डकी प्रदेश १ रजत र १ कास्यमा सीमित बन्यो। बागमती प्रदेशले १ रजत र लुम्बिनी प्रदेशले २ कास्य पदकमात्र जित्न सफल भयो।

पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा विभागीय ३ र ७ वटा प्रदेश गरी १० टिमले भाग लिएका थिए। जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका थिए। तीमध्ये महिला तथा पुरुषतर्फ १०÷१० इभेन्टमा खेल भएको हो।

भारत्तोलन नेपालका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक दिलाउने सम्भावित खेलभित्र पर्दछ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवधिभर विभिन्न कीर्तिमानी समेत बन्न सफल भए।

यसैबीच, अन्तिम दिन बुधबार ६ स्वर्णका लागि भएको प्रतियोगितामा पुलिसले थप ४ स्वर्ण जितेको हो। एपीएफले १ र सुदूरपश्चिमले १ स्वर्ण जिते। पहिलो खेल महिला ८७ केजी तौल समूहमा एपीएफकी नीशा बलालले स्वर्ण जितिन्। उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपीएफलाई पहिलो स्वर्ण दिलाएकी हुन्।

नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन्। उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन्।

महिला ८७ केजी माथि नेपाल पुलिसकी विद्या राईले स्न्याचमा कीर्तिमान कायम गरिन्। ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन्।

स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए। यस्तै, एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य जितिन्।

शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरेकी हुन् भने गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाएकी हुन्। घरेलु टोली गण्डकीले यसअघि रजत जितेको थियो।

पुरुष ९६ केजी तौल समूहमा नेपाल पुलिसका विशालसिंह बिष्टले क्लीन एण्ड जर्कमा राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण जिते। उनले स्न्याचमा १२० र क्लीन एण्ड जर्कमा १६१ गरी कुल २८१ तौल भार उठाउँदै स्वर्ण जितेका हुन्। एपीएफका तिलकबहादुर थापाले रजत जित्दा मधेश प्रदेशका संजय यादवले कास्य जित्न सफल भए।

पुरुष १०२ केजी तौल समूहमा नेपाल पुलिसका सन्देश गुरुङले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जिते। उनले स्न्याचमा ११३ केजी भार उठाएका हुन् । उनले क्लीन एण्ड जर्कमा १३९ सहित कुल २५२ केजी भार उठाए।

एपीएफका रणबहादुर नगरकोटीले स्न्याचमा ११२ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकोमा लगत्तै सन्देशले १ केजी बढी भार बहन गर्दै भंग गरिदिएका हुन्। नगरकोटीले क्लीन एण्ड स्न्याचमा १३८ सहित कुल २५० केजी भार उठाउँदा कास्य जितेका मधेशका उज्ज्वलकुमार मिश्रले कुल १९४ भार उठाए। उनले स्न्याचमा ८४ र क्लीन एण्ड जर्कमा ११० केजी भार बहन गरेका हुन्।

पुरुष १०९ केजी तौल समूहमा सुदूरपश्चिमका सुवास उपाध्यायले स्वर्ण जित्न सफल भए। उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १४० गरी कुल २५२ केजी भार बहन उठाउँदै स्वर्ण जितेका हुन्। नेपाल पुलिसका राजीव महर्जनले स्न्याचमा ११३ र क्लीन एण्ड जर्कमा १२५ गरी कुल २३८ केजी भार उठाउँदै रजत जितेका थिए।

मधेशका एम.आशीक हुसेनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ११६ गरी कुल १९६ केजी भार बहन गरी कास्य जिते।

यस्तै, पुरुष १०९ केजी माथि तौल समूहमा नेपाल पुलिसका सागर भण्डारीले स्वर्ण जित्न सफल भए। उनले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कम १३५ गरी कुल २५० केजी भार उठाए। आर्मीका पुकार गुरुङले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १२० गरी २३५ केजी भार उठाउँदै रजत जित्न सफल भए।

कास्य जितेका मधेशका प्रतापकुमार चौधरीले कुल १८५ भार उठाए। उनले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ११० केजी उठाएका हुन्।

कात्तिक २, २०७९ बुधबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।