सरकारी जग्गा व्यक्तिकाे नाममा नामसारी गर्ने २९ जनाविरुद्ध मुद्दा दायर

सरकारी जग्गा व्यक्तिकाे नाममा नामसारी गर्ने २९ जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं : सरकारी जग्गा व्यक्तिकाे नाममा नामसारी गर्ने २९ जनाविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको आराेपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएकाे आयाेगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

अख्तियारकाे अनुसन्धानले तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ को दफा ५ वमोजिम र बोर्ड बैठकको निर्णय वमोजिम उपलब्ध गराउनु पर्नेमा अध्यक्षहरूको एकल तोक आदेशको आधारमा बोर्डको निर्णय नै नभएका तथा निर्णयमा उल्लेख नै नभएका व्यक्तिहरू समेतलाई जग्गा उपलब्ध गराएको देखिएको उल्लेख छ।

यस्ताे कार्यमा संलग्न तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरू, समितिमा कार्यरत कर्मचारीहरू र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारीहरू, कित्ताकाट प्रकृयामा संलग्न नापी कार्यालयका कर्मचारीहरू तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरिएकाे हाे।

 

कात्तिक २, २०७९ बुधबार १९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।