निर्वाचन क्षेत्र पुगेर मेटमणिले भने, ‘अब संसदको हत्या गर्न कसैले आँट गर्दैन’

देउखुरी : शहरी विकास मन्त्री एवं एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन्।
एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले यस्तो बताएका हुन्।
संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणाली जस्ता उन्नत व्यवस्था सहितको उत्कृष्ट संविधानमाथि केपी ओलीले पटक–पटक प्रहार गरेको मन्त्री चौधरीको आरोप छ।
‘देश अब प्रगतिशील रूपान्तरणको बाटोमा जान्छ भन्ने आशा र अपेक्षा जनताले गरेको समयमा ओली नेतृत्वको एमालेले नयाँ संविधानमाथि निरन्तर प्रहार गरिरह्यो,’ उनले भने, ‘तर अब हाम्रै कारणले कसैले पनि संसदको हत्या गर्ने आँट गर्ने छैन।’
मन्त्री चौधरीले आफ्नै कारण मुलुकभर खरको छानोमुक्त गर्ने अभियान चलिरहेको बताउँदै लमहीमा सडक कालोपत्रे गर्न ५० करोड, गढवामा ३२ करोड, भालुवाङको लागि ८ करोडको बजेटको व्यवस्था गरेको बताए।
राप्ती कोरिडोर आयोजनाको डिपिआर तयार हुने क्रममा रहेको बताउँदै उनले राप्तीको श्रीनारायण चोकदेखि ५५ किलोमिटरमा स्वर्गद्वारी जोडिने बाटोको काम सुरु हुने जानकारी दिए। बनगाउँ चोकदेखि स्वर्गद्वारीसम्म केबुलकार निर्माणको काम अघि बढ्ने पनि उनले बताए।
कात्तिक २, २०७९ बुधबार १८:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।