नवौं राष्ट्रिय खेलकुद : महिला हकीमा आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : महिला हकीमा आर्मीलाई स्वर्ण

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हकीमा विभागीय टोली नेपाली सेनाको त्रिभूवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ।

बुधबार पोखरामा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो। टाइब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे।

त्यसअघि खेलको नवौं मिनेटमा नेपाल आर्र्मी सरस्वती तामाङले १ गोल गरेकी थिइन्। त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले एक गोल गर्न सफल भइन्। खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा पुगेको हो।

यस्तै महिला हकीमा प्रदेश १ लाई हराउँदै सुदूरपश्चिमले काँस्य पदक जितेको छ। बुधबार विहान भएको पहिलो खेलमा सुदुरपश्चिमले प्रदेश १ लाई २–० गोल अन्तरले हराएको हो।

सुदूरपश्चिमका लागि खेलको १०औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन्।

प्रतियोगितामा सात टिम सहभागी थिए ।

कात्तिक २, २०७९ बुधबार १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।