नवौं राष्ट्रिय खेलकुद : आर्चरीमा सात स्वर्णसहित गण्डकी बन्यो टीम च्याम्पियन

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ।
कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ काँस्यसहित कुल १२ पदकसहित च्याम्पियन बनेको हो।
दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काँस्यसहित कुल ९ पदक जित्न सफल भएको छ। अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लव तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काँस्य पदकसहित ८ पदक जित्न सफल भएको छ।
नेपाल पुलिस क्लव १ स्वर्ण, २ रजत र १ काँस्यसहित कुल ४ पदक जितेर चौथो बन्दा, प्रदेश १ ले २ रजत जितेर पाँचौ, सुदूरपश्चिमले १ रजत र २ काँस्यसहित ३ पदक तथा बागमती प्रदेशले १ काँस्य मात्र जितेर छैटौं बनेको हो। प्रतियोगिताको प्रतिस्पर्धी लुम्बिनी र एनआरएनए भने पदकविहीन बन्यो।
विजयी टीम तथा खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यवाहक सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।
बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जित्न सफल भए। उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरेका थिए। तिलकले रजत पदक जित्दा एपीएफका विराट थापा तेस्रो हुँदै काश्यमा सीमित भए।
रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन्। बजगाईंले रजत पदक जित्दा आर्मीकै ज्ञानु अवाले तेस्रो हुँदै काँस्यमा सीमित बनिन्। वरीयतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा छिन्।
कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै दुई खेलाडी फाइनलमा भिडेको थियो। जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जित्न सफल भए। पराजित क्षेत्रीले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिमका सुरेश गुरुङ तेस्रो हुँदै काँस्य पदकमा सीमित भए। वरीयतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै छन्। सुरेश चौथो वरीयतामा छन्।
कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरीयताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन्। दोस्रो वरीयताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराउँदै स्वर्ण जित्दा वरीयतामा अघि रहेकी आचार्य रजत पदकमा सीमित बनिन्। तेस्रो वरीयताकी एपीएफकी निर्मला कानवाङ राईले तेस्रो हुँदै काश्य जितिन्।
स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरीयताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते। ¥याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि पर्दै रजत पदकमा सीमित भए। बागमतीका फर्माचन शेरचनले तेस्रो हुँदै काँस्य जिते। शेरचन पाँचौं वरीयतामा थिए ।
स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन्। पराजित योगिताले रजत पदक जित्दा आर्मीकी शारदा बिक तेस्रो हुँदै काश्य पदकम सीमित भइन्। वरीयता निर्धारणमा शारदा दोस्रो स्थानमा छिन्।सोनु तेस्रो र योगिता चौथो स्थानमा रहेका छन्।
कूल १३ विधाको खेलमा मंगलबार सात स्वर्ण र बुधबार ६ स्वर्णको छिनोफानो भएको हो। आर्चरीमा मधेश र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता रहेको थियो।
कात्तिक २, २०७९ बुधबार १५:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।