वडाध्यक्ष मुकुन्द रिजाललाई आयाेगले साेध्याे स्पष्टिकरण

काठमाडाैं : निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएकामा २४ घन्टाभित्र स्पष्टिकरण पेस गर्न पत्र पठाएको छ।
वडाध्यक्ष रिजालले काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधिएकाे हाे।
आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रचार वा गर्न नहुने तर स्थानीय कार्यापालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको स्मरण गराइएकाे छ।
स्पष्टिकरणमा भनिएको छ, 'स्थानीय कार्यपालिकाको सदस्य तथा काठमाडौँ महानगरपालिकाको वडा नं १६ को वडा अध्यक्षले काठमाडौ महानगरपालिकाभित्र नेपाली कांग्रेस वा अन्य कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको हो, होइन?'
पत्रमा आफू स्थानीय कार्यपालिकाको सदस्य रहँदा रहँदै काठमाडौं महानगरपालिकाभित्र दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिवाना गर्नु नपर्ने हो? भनी जवाफ माग गरिएको छ।
कात्तिक २, २०७९ बुधबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।