दुर्लभ थापालाई आयाेगले साेध्याे २४ घण्टे स्पष्टिकरण

दुर्लभ थापालाई आयाेगले साेध्याे २४ घण्टे स्पष्टिकरण

काठमाडाैं : निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको भन्दै प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार एवं नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

थापाले सूर्यविनायक नगरपालिका वडा नं. २, ३, ४ र ६ का चोक, गल्ली र पोलहरूमा दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको तथा सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिता विपरीत हुने भएकाले स्पष्टिकरण सोधिएको आयाेगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।

थापालाई निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ स्मरण गराउँदै आयाेगले विभिन्न स्थानको बाटो तथा पोलहरूमा दलको झण्डा किन राखिएकाे भनेर स्पष्टिकरण सोधेकाे छ।

दफा १३ मा बमोजिम जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ज) मा ‘कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने’ व्यवस्था रहेको छ।

कात्तिक २, २०७९ बुधबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।