गठबन्धन पाँच दलको तर अपिल तीन दलको, चुनावपछि यही गठबन्धनको सरकार बन्ने दाबी

काठमाडौँ : जनता समाजवादी पार्टी पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनमा भित्रियो। राष्ट्रिय जनमोर्चा पहिल्यैबाट गठबन्धनमा छ नै। तर निर्वाचनमा संयुक्त अपिल जारी गर्दा भने जम्मा तीन दलका नेताले मात्रै हस्ताक्षर गरेका छन्।
मङ्गलवार गठबन्धनको पक्षमा मत माग्दै जारी भएको संयुक्त अपिलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको मात्र हस्ताक्षर रहेको छ।
अपिलमा राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न प्रतिबद्धता व्यक्त गर्दै
पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तत्कालीन सरकार प्रमुखको अनेकौँ स्वेच्छाचारी कदमहरूलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको उल्लेख छ।
पाँच दलीय गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावना अनुरूप काम भएको, महामारीको रूपमा रहेको कोभिडको रोकथाम नियन्त्रण भएको र विदेश नीतिमा सन्तुलन कायम गरेको दाबी छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्ताबेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधान माथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने दाबी गर्दै अपिलमा गठबन्धनले भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन र जनताको घरदैलोमै प्रभावकारी सेवाको सुनिश्चितता, उत्पादन वृद्धि र मुलुकभित्रै रोजगारीका पर्याप्त अवसरहरूको सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दाबी गरिएको छ।
नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई देशको आवश्यकता र राष्ट्रिय स्वार्थ केन्द्रित लक्ष्यका साथ सञ्चालन गर्नु गठबन्धन दलहरूको नीति हुने उल्लेख गर्दै नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र आवश्यकता अनुरूप गतिशील, सन्तुलित र अद्यावधिक बनाउनु आवश्यक रहेको अपिलमा उल्लेख छ।
लोकतान्त्रिक शक्तिहरू सम्मिलित गठबन्धन सरकार साझा राष्ट्रिय दृष्टिकोण बनाउन निरन्तर क्रियाशील रहने र वर्तमान विश्व कूटनीतिलाई सर्वाधिक प्रभावित पार्ने प्रमुख तीन वटा मुद्दाहरू जलवायु परिवर्तन, सूचना प्रविधिको विकास तथा समानता र समृद्धि सहितको साझा विश्व अवधारण एवं भूमण्डलीकरणकाबीच नेपालले आफ्नो राष्ट्रिय स्वार्थ अनुरूप परराष्ट्र सम्बन्ध र कूटनीति सञ्चालन गर्ने दाबी छ।
साझा प्रतिबद्धता, नीति र योजनाहरूको विस्तारित रूप पार्टीगत घोषणापत्रहरूले गर्ने र केही विषयहरूमा फरक विचार र दृष्टिकोणहरूका कारण नै अलग–अलग पार्टीहरूको अस्तित्व रहेको अपिलमा उल्लेख छ।
'आ–आफ्नो वैचारिक पहिचानसहित वृहत् राष्ट्रिय स्वार्थ र राष्ट्रिय आवश्यकताहरूलाई मध्यनजर गरी हाम्रा साझा दृष्टिकोण आएका छन्। त्यसकै आधारमा यो चुनावी गठबन्धन बनेको कुरा आम मतदाताले बुझ्नु भएकै छ,' अपिलमा भनिएको छ।
यी सबै राष्ट्रिय यथार्थहरूको प्रकाशमा लोकतन्त्र, संविधान र विधिको शासनमार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकतालाई मनन गर्न र आगामी निर्वाचनमा गठबन्धनलाई अत्यधिक बहुमतकासाथ विजयी गराउन अपिल गरिएको छ।
कात्तिक १, २०७९ मंगलबार १९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।