सत्ता गठबन्धनबाट बाहिरिएका हुन् लाेसपा, जनमाेर्चा र समाजवादी पार्टी ?

सत्ता गठबन्धनबाट बाहिरिएका हुन् लाेसपा, जनमाेर्चा र समाजवादी पार्टी ?

काठमाडौं : सत्तारुढ गठबन्धनले मंगलबार एक संयुक्त अपील जारी गर्दै भाेट माग्याे।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूको पक्षमा मतदान गर्न संयुक्त अपील’ भनिएकाे पत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे हस्ताक्षर थियाे।

तर, गठबन्धनमै भएका अन्य तीन दल लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र डा.बाबुराम भट्टराई नेतृत्त्वकाे नेपाल समाजवादी पार्टीका प्रतिनिधिकाे हस्ताक्षर थिएन।

अपिल जारी गर्ने बेलासम्म  सत्ता गठबन्धन पाँच दलबाट झरेर तीन दलमा खुम्चिएकाे भन्ने प्रश्न उठेकाे छ। यसअघिका हरेक विज्ञप्तिमा पाँच दलका शीर्ष नेताकाे हस्ताक्षर हुने गरेकाेमा मंगलबार भने तीन दलका नेताले मात्र हस्ताक्षर गर्नुलाई अर्थपूर्ण रूपले हेरिएकाे छ।

यसअघि गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमाेर्चा गरी पाँच दल थियाे। तर, गठबन्धनले सिट बाँडफाँटमा विभेद र अपमान गरेकाे भन्दै जनता समाजवादी पार्टी एमालेसँग तालमेल गर्न गयाे।

उसाे त गठबन्धनबाट जसपा अलग्गिँदा लाेसपा भित्रिएकाे छ। चुनावी तालमेल हेर्दा डा. बाबुराम भट्टराईकाे पार्टी पनि गठबन्धनमा सामेल भएकाे छ। यसरी हेर्दा अहिले गठबन्धनमा छ दल देखिन्छ। तर, हस्ताक्षर भने तीन दलकाे मात्रै छ।

यसले गठबन्धनबाट लाेसपा, राष्ट्रिय जनमाेर्चा र समाजवादी पार्टी बाहिरिएकाे हाे भन्ने प्रश्न उठेकाे छ।

कात्तिक १, २०७९ मंगलबार १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।