चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन्।
वाम-लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं-८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरूबीच रहेको गठबन्धन कायम रहने बताए।
काठमाडौं ८(ख)को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए।
विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरूबीच वाम-लोकतान्त्रिक गठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबीच सहकार्य चुनावपछि पनि जारी रहने बताए।
संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि आफूहरूले गठबन्धन बनाएको उनकाे भनाइ छ।
जनताको समृद्धिको आकांक्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले निरन्तर रूपमा अघि बढाउने भन्दै उनले काठमाडौं-८ मा आफूले सुरू गरेका कयौं परियोजना निरन्तरताका लागि उम्मेदवार बनेको बताए।
कात्तिक १, २०७९ मंगलबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।