नवौं राष्ट्रिय खेलकुद : व्यक्तिगत टाइम ट्रेल साइक्लिङमा आर्मी र एपिएफलाई एक–एक स्वर्ण

पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको व्यक्तिगत टाइम ट्रेल विधामा महिलातर्फ नेपाल आर्मी र पुरुषतर्फ एपीएफले स्वर्ण जितेका छन्।
मंगलबार पोखराको याम्दी–हेम्जा सडक खण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दूरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पूरा गर्दै आर्मीकी उषा खनालले स्वर्ण पदक जितेकी हुन्।
यस्तै, ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पूरा गर्दै एपिएफकी हुमी बुढामगरले रजत र ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा पूरा गर्दै आर्मीकै मञ्जु कुमारी खड्काले कास्य जितिन्।
पुरुषतर्फको व्यक्तिगत टाइम ट्रेलमा २० किलोमिटर दूरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलिसेकेण्डमा पूरा गर्दै एपीएफका सुरज रानामगरले स्वर्ण जित्दा ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसेकेण्डमा पूरा गरेर आर्मीका हिमाल टमाटाले रजत जिते। एपीएफकै लक्ष्मण मल्लले ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलिसेकेण्डमा दुरी पूरा गरेर कास्यमा चित्त बुझाए।
बुधबार रोड रेस मास स्टार्ट विधा पोखराको हेम्जामा हुनेछ। साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८÷८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
कात्तिक १, २०७९ मंगलबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।