नवौं राष्टिय खेलकुद : क्याप्टेनलाई परिवर्तन गरेर मैदान छिरेका सुदिलको गोलमा आर्मी फाइनल प्रवेश

नवौं राष्टिय खेलकुद : क्याप्टेनलाई परिवर्तन गरेर मैदान छिरेका सुदिलको गोलमा आर्मी फाइनल प्रवेश

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ।

मंगलबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १–० गोलले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो। प्रतिस्पर्धात्मक खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो।

पहिलो हाफ बराबरीमा रोकिएको खेलको ५८औं मिनेटमा सुदिलले गोल गर्दै अग्रता दिलाए। उनी २४औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए।

गण्डकीलाई खेलको सुरुवातदेखि नै दबावमा राखेको आर्मीले पटक–पटक पाएको अवसरलाई उचित सदुपयोग गर्न नसक्दा १–० गोल मै चित्त बुझाउन बाध्य भएको हो।

आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ गोलले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो।

कात्तिक १, २०७९ मंगलबार १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।