नवौँ राष्ट्रिय खेलकुद: चार सय मिटर दौडमा सोमबहादुर र रमिताकुमारीले बनाए दुई राष्ट्रिय कीर्तिमान

नवौँ राष्ट्रिय खेलकुद: चार सय मिटर दौडमा सोमबहादुर र रमिताकुमारीले बनाए दुई राष्ट्रिय कीर्तिमान

पोखरा: गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स चार सय मिटर दौडमा दुई नयाँ कीर्तिमान कायम भएका छन्। मङ्गलबार बिहान पोखरा रङ्गशालामा भएको चार सय मिटर पुरुष र महिला दौडमा दुई कीर्तिमान बनेका हुन्।

पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेण्डमा दूरी पार गर्दै कीर्तिमानसँगै स्वर्ण पदक जितेका हुन्। उनले सन् १९९० मा चीनको बेइजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन्। चौधरीले ४८.३२ सेकेण्डमा दूरी पार गर्दै कीर्तिमान कायम गरेका थिए।

सशस्त्र प्रहरी बल एपीएफका आशिष चौधरीले ४९.४० सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जिते। आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेण्डमा दूरी पूरा गर्दै कास्य पदक जिते।

महिलातर्फ एपीएफकी रमिताकुमारी थारैले ५८.१० सेकेन्डमा चार सय मिटर दूरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन्। उनले २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन्।

तुलसाले ५९.५७ सेकेण्डमा दूरी पूरा गर्दै कीर्तिमान बनाएकी थिइन्।

आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले कास्य पदक जित्न सफल भए। थापाले १ मिनेट ०.१४ सेकेण्ड र श्रेष्ठले १ मिनेट ०.७० सेकेण्डमा दूरी पूरा गर्दै पदक जितेका हुन्।

कात्तिक १, २०७९ मंगलबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।