मनसुन बाहिरिएपछि पश्चिमी वायुको प्रभाव सक्रिय हुँदा चिसो बढ्दै

मनसुन बाहिरिएपछि पश्चिमी वायुको प्रभाव सक्रिय हुँदा चिसो बढ्दै

काठमाडौं: नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय भएको छ। यसले विभिन्न स्थानमा मौसम बदली र वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम समेत घट्दै गएको छ। पश्चिमी वायुको प्रवेशले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उनले बताए।

उनले भने, “मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय हुन्छन्। आज र भोलि धेरै नै सक्रिय छन्, जसले गर्दा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली गराएर पहाडी भू–भागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ।”

पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ।

आज काठमाडौंको न्यूनतम १२ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ।

कात्तिक १, २०७९ मंगलबार ०९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।